मुगु- छायाँनाथ रारा नगरपालिकाका अपांगता भएकाहरूले परिचयपत्र बनाइ दिन माग गर्दै एक वर्षअघि दिएको निवेदनमाथि अझैसम्म सुनुवाइ भएको छैन । उनीहरूले परिचयपत्र अभावमा राज्यबाट पाउने सुविधाहरूबाट बन्चित हुनु परेको भन्दै  आव २०७७/०७८ मै परिचयपत्नका लागि निवेदन दिएको बताएका छन् । ११२ जनाले निवेदन दिए पनि नगरपालिकाले सामान्य छनबिन समेत सुरू नगरेको उनीहरूको दुखेसो छ । 

छाँयानाथ रारा नगरपालिका-१२ बालचौरका रत्नबहादुर बिकको बाल्याकालदेखि नै दुबै हात चल्दैन । उनलाई बोल्न पनि समस्या छ । पछि अलि ठूलो भएपछि फेरि लड्दा हात पनि भाँचियो । अहिले उनी राम्रोसँग हिडडुल र बोल्न नसक्ने उनकी आमाले बताइन् । उसलाई परिचयपत्र दिए अलि अलि भए पनि सरकारले भत्ता दिने हुँदा रेखदेखमा सहज हुने रत्नबहादुरकी आमाले गुनासो गरिन् । उनले भनिन्, 'नगरपालिकामा अपाङ्ग परिचयपत्र पाउँ भनेर सबै कागज पत्रसहित निवेदन दिएको एक वर्ष भयो ।अहिलेसम्म परिचयपत्र पाइएको छैन ।'

छायाँनाथ रारा नगरपालिका-१ घाटकी अपांगता भएकी सुजाता मल्लले पनि अहिसम्म राज्यबाट पाउने कुनै पनि सेवासुविधा पाउन सकेकी छैनन् । उनका बुबा पदम मल्लले अपांगता परिचयपत्रका लागि एक वर्षअघि नै नगरपालिकामा निवेदन दिएका थिए । तर, अहिलेसम्म नगरपालिकाले सोधखोजसमेत गरेको छैन । 

छायाँनाथ रारा नगपालिकामा मात्रै होइन मुगुको सोरु, खत्याड र मुगु कामारोङ्ग गाउँपालिकामा समेत यस्तो समस्या वर्षौदेखि छ । परिचय पत्रको लागि धेरै पटकको छलफलपछि छाँयानाथ रारा नगरपालिकाले दुई चरण गरेर 'क' नम्बरको परिचय पत्र चार जना, 'ख' वर्गको १५ जना, 'ग' वर्गको १२ जना, 'घ' वर्गका २५ जनागरी  ५६ जनाले परिचय पत्र पाएको जनप्रतिनिधिहरूले बताएका छन् । अझै ११२ जनाले परिचय पत्र पाउन सकेका छैनन् । 

अपाङ्ग पुनर्स्थापना तथा ग्रामीण विकास संस्था डार्डो नेपाल मुगुका अध्यक्ष सक्कबहादुर बुढाका अनुसार सबैलाई परिचयपत्र दिन माग भइरहेको छ । गाउँमा सिंहदरवार आए पनि नागरिकहरूले अझै सेवा सहजै पाउन नसकेको उनको भनाइ छ ।  अपाङ्गता परिचय पत्र वितरण संयोजक तथा छायाँनाथ नगर उपप्रमुख सुन्तला रोकायाले अब केही दिनमै सबैले परिचयपत्र पाउने बताइन् । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्लाबाहिर गएका कारणा ढिला भएको र अबको एक साताभित्रै अपांगता परिचयपत्र दिने उनले प्रतिबद्धता जनाइन् । 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार