............अन्तिममा यस्तो मोड आउँछ ।

बास बसेर घर फर्किँदै गरेको रिकुटेलाई बाटोमै रोकेर चुक्सेको आमाले सुनको औँठी दिँदै भन्छिन्, 'यो औँठी तपाईंले बिर्सिनुभएछ ।'
रिकुटेले औँठी थाप्न इन्कार गर्दै भन्छ, 'यो औँठी मैले बिर्सिनका लागि नै छाडिराखेको हुँ ।'
'अब यो औँठीको के काम र छाड्नुभ'को ?' चुक्सेको आमाले सोध्छिन् ।
'यो औँठी हाम्रो प्रेमको चिनो हो । चुक्सेले पछि बाउ खै भनेर सोध्यो भने यही औँठी दिनु ।' रिकुटेले जवाफ दिन्छ।
'लु यही औँठीलाई साक्षी राखेर भन्नु त कसको गल्ती हो ?' चुक्सेकी आमाले सोध्छिन् ।
'अलिकति मेरो,अलिकति तिम्रो, त्यो भन्दा ठुलो हाम्रो गाउँको सँस्कृति र परम्पराको ।' रिकुटेले भन्छ ।

त्यसपछि आइन्दा यस्तो गल्ती छोराछोरीले नदोहोर्याउन् भनी त्यो औँठी चुक्सेको आमालाई नै छाडीकन रिकुटे आफ्नो बाटो लाग्छ । चुक्से र उनकी आमा आफ्नो घर फर्किन्छन् । क्यामेरा बिस्तारै जुम आउट हुन्छ । सिर्सिरे हावा बिस्तारै चलिरहेको हुन्छ ।

नाउ लेट्स गो ब्याक टु स्टोरी !

आफ्नो वृद्ध आमाको सल्लाहबमोजिम रिकुटेले मन पराएको झोंकमा विराजी भन्दाभन्दै पनि कान्छीलाई जबर्जस्ती  तानेर आफ्नो घर लान्छ । विराजी भईभई पनि कान्छी रिकुटेको घरमा जान्छिन् । रिकुटेको घरमा उनीहरूको लगन हुन्छ । लगनमा बुढ्यौलीले रिकुटेलाई युप्पारुङ (चाँदीको सिक्का) दिँदै कान्छीलाई दिन अह्राउँछ।रिकुटेले बुढ्यौलीको सल्लाहबमोजिम आइन्दा मैले तिमीलाई अन्याय अत्याचार गरेँ भने यसैले हानीकन जानू भनेर युप्पारुङ कान्छीलाई दिन्छ । कान्छीले त्यो युप्पारुङ आफ्नो मजेत्रोमा लुकाउँछिन् ।

त्यतिकैमा गाउँमा गल्लावालहरू आउँछन् । अनि पल्टन भर्तीको निम्ति गाउँका युवाहरूलाई उक्साउँछन् । रिकुटे र उनका साथीहरू सबैले आ-आफ्नो छाती नाप्दै तालिममा भाग लिन्छन् । रिकुटे भर्ती छिर्न सफल हुन्छ । उक्त कुरा उसले एकरात कान्छीलाई सुनाउँछिन् । रिकुटेको कुराले कान्छी दुखित हुन्छिन् ।

एकदिन भरिया साथीहरूसहित रिकुटे पल्टनबाट फर्किन्छ । (ब्याकग्राउण्डमा पालामको झ्याउरे भाका एकोहोरो बजिरहेको हुन्छ) उनीहरू त्यो दिन देउरालीसम्म पुग्ने सल्लाहमा हुन्छन् । तर बाटोभरि खुइँय हाल्दै मेलाहरूमा निस्कँदै हिँड्दा बाटोमै साँझ पर्छ । त्यसपछि बास बस्न भनी एउटा घरमा छिर्छन् । रिकुटेले त्यो घरको आँगनीमा फुलिरहेको एउटा फूल टिप्छ । फूल टिप्ने को हो भन्दै घरको झ्यालबाट एकजना चेलीले हकार्छिन् । त्यसपछि बास बस्न आएको बिन्ती बिसाउँदै स्थितिलाई साम्य पार्छन् । त्यसपछि एउटा सानो बालकसँग घरधनी बाहिर निस्कन्छ । घरधनी पनि एउटा रिटायर्ड पल्टने हुन्छ । पल्टनेकै घर भएकोले आपसमा राम्रो सत्कार हुन्छ । तर फिल्मले तब यस्तो मोड लिन्छ जब घरमा त्यो बालक (चुक्से)को आमा देखा पर्छिन् । उनीसँग रिकुटेको एकोहोरो आँखा जुध्छ । उनी त्यो घरकी जेठी छोरी भएको कुरा पल्टने घरधनीले खुलासा गर्छ । त्यसैबीचमा उनको बिहेबारी र पल्टने ज्वाइँको बारे कुरा चल्छ । रिकुटेले घरधनीको कुरा राम्रोसँग सुन्छ ।

राति रिकुटेको साथीहरू गाउँका सोल्टिनीहरूसँग धान नाच्छन् । ऊ भने चुक्सेलाई नाम्सामी र केसामीको कथा सुनाउन थाल्छ । त्यतिकैमा कोठामा चुक्सेकी आमा देखा पर्छिन् । त्यतिबेला मात्रै चुक्से रिकुटेको छोरा र चुक्सेकी आमा रिकुटेकी स्वास्नी कान्छी भएको जानकार हुन्छ । रिकुटे पल्टन हिँडेपछि नै उनले घर छाडेर माइत आएको कुरा नि गर्छिन् । धेरैपछि आफ्नो स्वास्नी र छोरा देखेर उसलाई नरमाइलो लाग्छ ।

मोटामोटी कथा यही हो ।

एकबेला लिम्बूहरू उनीहरूकै पुरानो संस्कृति र परम्पराले ग्रसित थिए । केटी पक्षको इच्छाविपरीत जबर्जस्ती तानेर बिहे गर्ने, छोरीचेलीको सोतरित खाने, बेहुलीको परिवारले बेहुलाबाट सुनौली रुपौली माग्नेजस्ता पुराना परम्परा लिम्बूवानमा व्याप्त थियो । यसलाई अझ शक्तिशाली बनाउने र प्रशय दिने काम सुब्बा परम्पराले गर्यो । सुब्बाका परिवारले आफ्नो शक्तिको प्रयोग गर्दै धेरै लिम्बूनी चेलीहरूलाई जबर्जस्ती तानेर बिहे गरेको इतिहास र उदाहरणहरू हामीमा प्रसस्त छ । भलै ७ सालको प्रजातन्त्र प्राप्ति र राणा शासनको अन्त्य भएसँग देशमा नवीन सोच र विचारहरू प्रार्दुभाव हुन थाल्यो । त्यसपछि २२ सालको भूमिसुधार, २८ सालको नापी र ३५ सालको जग्गा सट्टाबड्नाले सुब्बाहरूको आतित्त्व समाप्त गरिदियो । त्यसपछि यस्ता निर्मम परम्पराहरू लिम्बूवानबाट हट्दै गयो ।तर पनि पूर्णरूपमा भने यसको जरा उखेलिएर फाल्न सकिएन ।

१९८८ सालमा इलामको चुक्चिनाम्बामा जन्मिएका फलामसिङ उर्फ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दले यस्ता विकृतिहरूमा सुधार ल्याउनुपर्ने तर्कसहित पाँचथरको लब्रेकुटीमा दश लिम्बूवान सत्र थुमका सुब्बा, गन्यमान्य र तुम्याहाङहलाई भेला गरेर 'सत्य धर्म मुचुल्का'को घोषणा गर्नुभयो । त्यस मुचुल्कालाई लिम्बूवानको मार्गदर्शन र दिशानिर्देशनको रूपमा मानियो । तथापि केही विरोधी बुज्रुक र आपुङ्गी लिम्बूहरूले त्यस घोषणालाई सिरपुच्छार टेरेनन् र विद्यमान रितीथितीलाई अँगाल्दै अघि बढे । परिणामस्वरूप कति लिम्बूहरू आफ्नै संस्कृतिको चेपुवामा परेर पीडित भए ।

नुमाफुङ फिल्मजस्ता अर्ग्यानिक र सुन्दर फिल्म बनाएका सुप्रसिद्ध निर्देशक नवीन सुब्बाद्वारा निर्देशित निक्कै पुरानो लिम्बू चलचित्र 'तरेबा' फिल्मको प्रसङ्ग हो यो । तरेबाको नेपाली अर्थ हुन्छ पाहुना वा तन्नेरी । तर यहाँ हामीले पाहुना भनेरै बुझ्दा हुन्छ । यसै फिल्मबाट देखा परेकि (चुक्सेकी आमा) शोभा खजुम लिम्बू चलचित्रको प्रथम हिरोइन हुन् ।रिकुटेको रूपमा देखा परेको नरप्रसाद सुब्बा (रिकुटे)को अभिनय पनि तारिफयोग्य छ । फिल्मले रिकुटेको माध्यमबाट जबर्जस्ती बिहे गर्ने लिम्बूवानको पुरानो परम्परा र त्यसले ल्याएको नराम्रा परिणामहरू ४५ मिनेटमा देखाउन खोजेको छ ।

१. सेटिङः फिल्मको सेटिङ छ, थर धनकुटा तिरको लिम्बू गाउँको हो । यहाँको छ थरे भाषा आम लिम्बू भाषाभन्दा अलि फरक हुन्छ ।

२. पात्र चरित्रः रिकुटे पात्रमार्फत लिम्बूहरूको पल्टने परम्परा र जबजस्ती तानेर विवाह गर्ने (चोरी विवाह) प्रचलन देखाइएको छ । चुक्सेकी आमा पात्रमार्फत उक्त प्रचलनको दलनमा परेको एक आम लिम्बूवानी नारीको व्यथा प्रस्तुत गरिएको छ ।

३. बिम्ब प्रयोगः फिल्ममा धेरै बिम्बहरूको प्रयोग गरिएको छ । उदाहरणको निम्ति रिकुटेले अपरिचित आँगनको फूल टिपेको सिनलाई लिन सकिन्छ । यसले त्यतिबेलाको नेपाली समाजको पुरुषप्रधान चरित्र र अन्य जातजातिमा त्यसले बनाएको मानसिकताको झल्को दिन खोजेको छ ।

अपरिचित घरको फूल टिप्नुलाई इच्छाविपरीत छोरीचेलीलाई बिहे गर्नु भन्नेसँग दाँज्न खोजिएको छ ।

अर्को बिम्ब भनेको सुनको औँठीको हो जुन रिकुटेले चुक्सेकी आमालाई बिहेमा दिएको हुन्छ । त्यस औँठीलाई रिकुटेको मायाको प्रतिकको लिन सकिन्छ । भलै पुरानो परम्परा र संस्कृतिले प्रताडित रिकुटेले चुक्सेकी आमालाई एकदमै माया गरेको हुन्छ र त्यही औँठीलाई उसको मायाको अन्तिम चिनो ठान्छ । र आइन्दा यस्तो गल्ती नदोहोर्याउने प्रण गर्छ ।

४. सांस्कृतिकताः यस फिल्ममा लिम्बू संस्कृतिको थुप्रै पाटोहरूलाई देखाइएको छ । पल्टन भिँड्ने, मेलापात गर्ने, धाननाच नाच्ने र पालाम गाउने, जाँडरक्सी पिउने पाहुनाहरूलाई सत्कार गर्नेजस्ता संस्कृतिहरूले फिल्मलाई जीवन्त तुल्याएको छ ।

५. त्रुटि र दिशाबोधः फिल्ममा चुक्सेकी आमा संस्कृतिको सिकार भएकि पात्र हुन् । उनी लोग्ने पल्टन हिँडेपछि माइतै फर्किएर एक्लै बस्छिन् । उनको चरित्रले बद्लिँदै गरेको नारीहरूको स्वतन्त्र मानसिकताको उजागर गरेको छ । त्यही संस्कृतिको परिणामस्वरूप देखिएको चुक्से पात्र पाहुनाहरूप्रति अनुदार देखिन्छ । तर, अन्तिममा वर्षाैंको बिछोडलाई पुनः मिलनमा परिणत गराई बितेका गल्तीहरूमा पश्चताप गर्दै आत्ममुल्याङ्कन गर्नुपर्ने जुन कुरामा पात्रहरू चुकेका छन् । यही नै निर्देशकको कमजोरी भएको हो कि जस्तै भान हुन्छ ।

सुस्तरी हावा चलिरहेको छ । जुम आउट भइन्जेल रिकुटे र चुक्सेकी आमा आ-आफ्नो बाटो फर्किरहन्छन् । र नेपथ्यमा हराउँछन्।

नेभरदेलेस, दे क्यारी अस इन्साइड द स्टोरी ।

भलै अहिले यस्तो चलन लिम्बूवानबाट हटिसकेको छ । धन्य छौँ हामी कि यस्तो संस्कृतिबाट प्रताडित हुन परेन ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सञ्जित फलाना

लेखकबाट थप...

सम्बन्धित समाचार