काठमाडाैँ । सिसेःक्पा तङ्नाम– ५०८२ को अवसरमा किरात याक्थुङ चुम्लुङ, जापानले मुक्कुम्लुङ्मा स्मारिका विमोचन तथा सम्मान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।जापानको राजधानी टोकियोको ओकुबोस्थित नेवाः डाइनिङको सभाहलमा २०२२ जुलाई १७ तारिखका दिन आयोजित उक्त कार्यक्रममा चुम्लुङ, जापानद्वारा प्रकाशित मुक्कुम्लुङ्मा स्मारिका कार्यक्रमका प्रमुख अतिथि एवम् गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव अजीव गुरुङ ‘ओम’बाट विमोचन गरिएको हो । 

स्मारिकाको पहिलो खण्डमा याक्थुङ मुन्धुम, भाषा, साहित्य र इतिहास सम्बन्धी अनुसन्धानात्मक एवम् विचारमूलक लेखहरू, जापानवासी नेपालीहरूको अनुभव अनुभूति तथा जापानमा नेपालीहरूको अवस्था लगायत विषयमा याक्थुङ, खस नेपाली र अङ्ग्रेजी भाषा माध्यमबाट लेखिएका लेखहरू समावेश गरिएको छ । दोस्रो खण्डमा लिम्बुवानको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक आस्थाको केन्द्र मुक्कुम्लुङ परिसरमा किरात याक्थुङ चुम्लुङ, जापानले करिब पैतीस लाख लागतमा ‘मुक्कुम्लुङ केलाःङ निङ्वा?सो’ (च्याब्ब्रुङ स्तम्भ) निर्माण गरेको छ । उक्त स्तम्भ निर्माणका लागि आर्थिक सहयोग दाताहरूको विवरण एवम् मुक्कुम्लुङ केलाःङ निङ्वा सो स्थानीय निर्माण व्यवस्थापन समितिको आर्थिक आय व्यय प्रतिवेदन लगायत सामग्रीहरू समेटिएको छ ।

तेस्रो खण्डमा जापानमा याक्थुङहरू तथा किरात याक्थुङ चुम्लुङ, जापानको संस्थागत् अवस्था समावेश गरिएको छ । यसका साथै प्रवास जापानमा रहेका याक्थुङहरूको तथ्याङ्क विवरण समेत समेटिएको स्मारिकाका सम्पादक मुक्साम लाओतीले बताए । उक्त कार्यक्रममा जापानलाई कर्मभूमि बनाएर जापानवासी नेपालीहरूका लागि सञ्चार माध्यम क्षेत्रबाट महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका नेपाल जापान डट कमका सम्पादक आनन्द कोइराला र फोनिज न्यूज डट कमका सम्पादक फुर्वा शेर्पालाई जनही दश हजार येन नगद सहित ‘किरात याक्थुङ चुम्लुङ, जापान पत्रकारिता पुरस्कार– २०२२’बाट सम्मान गरिएको छ ।

कार्यक्रममा विशिष्ट अतिथि एवम् नेपाल आदिवासी जनजाति महासंघ, जापानका अध्यक्ष सञ्जीव राई, विशेष अतिथि एवम् गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानका अध्यक्ष शिवप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै किरात याक्थुङ चुम्लुङ, जापानका सल्लाहकार भगिश्वर इङ्नाम, पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानका सचिव भुवन निरौला, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ, जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाल मगर संघ, जापानका अध्यक्ष ओम काउचा मगर, तमू धीः, जापानका उपाध्यक्ष चित्र गुरुङ, नेपाल तामाङ समाज, जापानका उपाध्यक्ष गीरबहादुर तामाङ, किरात राई यायोक्खा, जापानका उपाध्यक्ष प्रमिला राई, युकेबाट आएका रिसर्चर डा. चरण भट्टराईले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा किरात याक्थुङ चुम्लुङ, जापानका सल्लाहकार तथा संस्थापक अध्यक्ष रिद्धिबहादुर तुम्बाहाङ्फे, निवर्तमान अध्यक्ष एवम् सल्लाहकार चन्द्रकुमार जवेगू, सल्लाहकार भविन लाओती, सल्लाहकार शिशिर निङ्लेकू, ओसाकाबाट आउनुभएका क्योतो युनिर्भसिटीका रिसर्चर युको ताकामिचीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका सदस्य लासेमी केरूङबाट याक्थुङ गजल वाचन, विशाल पालुङ्वाबाट नृत्य, उपाध्यक्ष देवेन्द्र लाओतीबाट स्वागत गीत तथा पालाम, सल्लाहकार चन्द्रकुमार जवेगूबाट गीत तथा कवि सजिना मोक्तानबाट कविता वाचन भएको थियो । साथै यालाःङ, केलाःङ जस्ता मौलिक सांस्कृतिक प्रस्तुतिहरू समेत प्रस्तुत गरिएको थियो भने देवेन्द्र लाओती, दुर्गा नेम्वाङ, विशाल पालुङ्वा, चन्द्रकुमार जवेगू, अपेक्षा येङ्देन, रेखा तुम्बाहाङ्फे, बन्दना चेम्जोङ, दीपा लिम्बूबाट केलाःङ (च्याब्ब्रुङ नाच) प्रस्तुत भएको थियो भने लाखध्वज मादेम्बा, युवराज लाओती, बालविक्रम तिगेला र इन्द्रदीप आङ्देम्बेले साक्नाम नाःप्मा प्रस्तुति प्रस्तुत भएको थियो । कार्यक्रममा चुम्लुङ, जापानका उपाध्यक्ष मनकुमार तुम्साबाट स्वागत मन्तव्य व्यक्त भएको थियो । महासचिव मुक्साम लाओतीबाट सञ्चालित कार्यक्रमको सभाध्यक्ष कियाचु, जापानका अध्यक्ष सुदीप पालुङ्वाले गरेका थिए ।
 


 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...

सम्बन्धित समाचार