जाबो नागरिक भएकै भ्रममा
कसरी गर्न सक्छु म देशमाथि गर्व ?

जब इतिहासमा
मेटिसकेको छ
दुईसय वर्ष पुरानो स्वाधीनताको गाथा
उप्किसकेको छ
बडाे दुःखले आर्ज्याको एकताको कथा

जब उत्तरआधुनिक साम्राज्यवादीसँग
बोलपत्रमा हस्ताक्षर गरिरहेछ दलाल सरकार
र कारोबारको प्रथम सूचीमा परेको छ
देशको अखण्डता

जब आधुनिक बाँदरहरू पालेर
रमिता देखाइरहेछ सांसद भवन
र राष्ट्रिय सम्पदाहरूको लेखाजोखा गरिरहेछ
बहुराष्ट्रिय कन्ट्र्याक्टर

जब शक्तिको चक्रव्यूहमा परेको छ
झण्डामा चम्किरहने घामजुन
संकटको घेरामा परेको छ
सगरमाथाको उचाइ

यतिबेला
बरू नारा लाउँदै हुन सक्छु शासकको विरोधमा
र देशद्रोहीको नाममा गिरफ्तार हुन सक्छु
बरू भेटिन सक्छु विरोध प्रदर्शनीहरूमा
र, प्रहरी भ्यानमा कोचिन सक्छु
तर, कदापि गर्न सक्दिन
आफ्नै मस्तिष्कको खारेजी
गर्न सक्दिन
आफ्नै चेतनाहरूको बहिष्कार

दाउमा राखेर राष्ट्रियता
म कसरी हुनसक्छु प्रगतिशील ?
बन्धकी राखेर सार्वभौमिकता
म कसरी हुनसक्छु विकासवादी ?

सम्झौता गरेर आफ्नै अस्तित्व
जिन्दगीको भुक्तान गर्नुपर्ने
हामी यति निरिह भयौँ
कि आफ्नै स्वाभीमानमा नि बाँच्न सक्दैनौँ

बिक्री गरेर
आफ्नै पसिना र आँसुले उमारेको नदी
समृद्ध हुन खोज्ने

बिक्री गरेर
आफ्नै सासले हुर्काएको जङ्गल
वैभवशाली हुन खोज्ने

बिक्री गरेर
आफ्नै रगतले सिँचेको माटो
सम्पन्न हुन खोज्ने

हामी यति दास भयौँ
कि आफ्नै बिचारमा नि उभिन सक्दैनौँ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

सञ्जित फलाना

लेखकबाट थप...

सम्बन्धित समाचार