प्रकाश आङदेम्बे

प्रकाश आङदेम्बे नेपाली रङ्गमञ्च, कला, साहित्य साधकका साथै चलचित्र लेखक, निर्देशक र निर्माता हुन् ।

 लम्पसार परेर कसैलाई ढोगिरहेको थियो हामीले भेट्दा । दिलन समालले शुरूमा चिनापर्ची गर्‍याे/गरायो । दिलन समाल एक कुसल रङगकर्मी, फोटोग्राफर । अमेरिकाबाट पारिवारिक सिलसिलामा नेपाल आएका हुन् । उनले चिनापर्ची गराएका व्यक्ति हुन् राहुल मजुमदार । उमेरले सत्तरीको हाराहारीमा पुगेका रहेछन् उनी । ३६ वर्षअघि आफू जवान हुदाँ पहिलो पटक अन्नपुर्ण बेस क्याम्पको यात्रामा आएका रहेछन् । “ईश्वर कतै छ भने प्रकृतिमा छ । हिमालको सौन्दर्यमा छ । मेरो जिन्दगीको यो अन्तिम यात्रा हो । सायद अब आउन सक्तिन । धन्यवाद भन्नलाई ढोगेको हुँ ।” लम्पसार परेर कसलाई ढोगेकोे भन्ने हाम्रो जिज्ञासालाई उत्तर मिल्यो । अघिल्लो पटक आउँदा आफूले खिचेको ग्लेसियरको फोटो मोबाइलमा हामीलाई देखाएर भने “यो त अझै उस्तै रहेछ ।” यतिबेला ठ्याक्कै ग्लेसियरको सामने छौँ हामी । सबैभन्दा बुद्धिमानी प्राणी हुँ को भ्रममा मान्छेले अन्य प्राणीलाई त उति गन्दैन नै अझ प्रकृति, रहस्य, ऊर्जालाई त निर्जीव ठानेर वास्तै गर्दैन । जो वास्तमा जीवित छ । जसले अस्तित्वलाई महसुस गर्छ । उसका लागि ढुंगा, माटो, नदी, पहाड, हिमाल, घाम, हावा, आदि सबै सबै सजीव हुन् । एक जीवित मान्छे मजुमदारले जीवित प्रकृतिलाई यसरी सप्रेम दण्डवत् गरेको सम्झिँदा पंक्तिकार आनन्दित र भावुक पनि भयो । प्रसङ्गवश सान्दर्भिक हुन गएकोले केही समय अघि आफैँद्वारा सृजित एउटा रुबाई (सृजना) यहाँ राख्न चाहन्छु । 

तबदेखि अस्तित्व अपहरणमा पर्‍याे
जबदेखि जिन्दगी व्याकरणमा पर्‍याे
र पो इन्द्रनी इन्द्रनी भएको हो
आकाश पुगेर‘नि धर्तीको चरणमा पर्‍याे । 

झुलेको धानका बाला । निहुरिएको क्षितिज । फलेको वृक्षको हाँगा । इन्द्रेणी । साँच्चै प्रिय लाग्छ । यी सबैभन्दा बढी स्वाभवतः सरलताले झुेकेको मान्छे प्रिय लाग्छ । यी प्रिय मानिस कलकत्ता निवासी रहेछन् । एक स्वतनत्र कथाकार, कवि, फोटोग्राफर, पेन्टर र एक असल शिक्षक पनि । सु-प्रशिद्ध चिन्तक, कवि रवीन्द्रनाथ ठाकुरद्वारा प्रारम्भ भएको शान्ति निकेतन होस् या साहित्यकार, चलचित्रकर्मी सत्यजित रे द्वारा प्रारम्भ गरिएको बाल म्यागेजिन होस्; सबैमा काम गरिसकेका रहेछन् । कयौँ हिन्दी र बंगाली पत्रपत्रिकामा आज पनि कार्टुन, स्केचहरू सृजना गर्ने काम गर्दारहेछन् । उनै प्रतिभाका धनी मजुमदारसँग माछापुच्छ्रे वेसक्याम्प दक्षिण, देउराली उत्तरमा अवस्थित ग्लेसियरमा भेट भयो । हामी अघिल्लो दिन अन्नपुर्ण बेसक्याम्पमा बसेर फर्किंदै थियौँ । उनी बेसक्याम्पतिर उक्लिँदै थिएँ । धन्न दिलनले बोलेर एक असल व्यक्तित्वसँग क्षणभरलाई भए नि भेट्न पाइयो । बोल्न पाइयो । महसुस गर्न पाइयो । नत्र त हजारौँको भीडमा कसरी प्रतिभा सम्पन्न, जीवन जिउन जान्ने सन्तसँग भेट हुन्थ्यो ? नलजाई, नधकाई जोसँग पनि बोल्नुको फाइदा भोगायो दिलनले । 

मनले चाहेर पनि लामो समय सँगै रहन मिलेन । दाइलाई बेसक्याम्प उक्लिनु थियो । हामीलाई कम्तीमा बेम्बो ओरालिनु थियो । इमेल, ठेगाना, सोसलसाइडको परिचय एकआपसमा बाँडेर बिदा भयौँ । 

हामी छुट्यौँ ।   

हिमालमा लेक लाग्छ । अक्सिजन कम हुन्छ । हिमालभन्दा थकान अग्लिन्छ तर पनि प्राकृतिक सौन्दर्य, अदृश्य ऊर्जाहरूको अम्मलीहरू भने निरन्तर हिँडी नै रहन्छन् । यो यात्रामा पाएका पीडाहरूलाई प्राकृतिक उपहार सम्झेर । हिमाली यात्रा सकुसल पुग्नु मात्रले पूर्ण हुँदैन । सकुसल फर्किएपछि मात्र पूर्ण हुन्छ । सकुसल आरोहण र सकुसल अवरोहणले मात्र हिमाली यात्राले सार्थकता प्राप्त गर्छ । यसरी पदयात्रा गर्ने संस्कृति नेपालमा भर्खर मौलिँदै छ । विदेशमा भने यो सबैभन्दा महत्वपूर्ण हुन्छ । हाम्रो हिमालीभेगका पैदलयात्राकै लागि विदेशीहरू ८० प्रतिशत भन्दा बढी नेपाल आउँछन् । यो यात्रामा हामी दर्जनभन्दा बढी थियौँ । दिलन समाल (रङगकर्मी, फोटोग्राफर), दिपेन गुरुङ (गायक/भ्लगर/पेन्टर), टेकेन्द्र यक्सो (म्युजिक एरेन्जर), सुजा आङदेम्बे (फेसन डिजाइनर), दिप घतानी (म्युजिसियन/रेकर्डिस्ट), कमला वनेम (व्युटिसियन/आध्यमिक यात्री), श्याम इङनाम (स्रष्टा/इन्जिनियर), सुरेन लिम्बू (व्यवसायी, सृजनशील व्यक्तित्व), मबिन राई (गायक/संगीतकार), र ललिता राई आदि । श्याम जी र सुरेन जी हङकङबाट विदामा नेपाल आउनु भएको थियो । समय व्यस्तताका कारण कमला दिदी, श्याम जी लगायतको समूह अघि नै बाटो लागि सकेका थिए । उहाँहरूको भेट राहुल दासँग भएन । जे होस् उहाँहरूलाई पनि गज्जबैले सम्झ्यौँ ।   

हामी फर्कियौँ....
घर फर्केपछि हप्तादिन त मूर्ति नै भइयो थाकेर । रातदिन सुत्नुभन्दा पर्तिर अरू गर्न सकिएन । त्यसपछि दाइलाई सम्पर्क गरेँ । भिडियो कलमा मज्जाले कुराकानी भयो । दाइ हामीले सोंचेभन्दा अझ उच्च व्यक्तित्व हुनुहुँदोरहेछ । कला, साहित्यका बारेमा उहाँका धेरै अनुभव सुन्न पाइयो/निरन्तर पाइराखिएको छ । यही हिमाली यात्रा माथि उहाँले मलाई ३६ वर्ष अगाडि आफूले खिचेको केही फोटो पठाउनु भयो । मलाई गज्जब लाग्यो । फोटोहरू प्राविधिक रूपले धूमिल लागे तर यसले समातेको समयको एउटा अनुहार जो अरू कतै खोजेर पाइँदैन । त्यति मूल्यवान लाग्यो मलाई । त्यो समय जतिबेला म भर्खर बामे सर्दै थिए । जसको दशक पछाडि मात्र मैले तस्वीर खिच्न पाएको थिएँ । त्यो समय हिमाली यात्रामा निस्कनु । त्यो पनि फोटोग्राफी सहित । पक्कै यो सामान्य थिएन । ‘राहुल दा’ यसका लागि मुरीमुरी धन्यवादका पात्र हुनुहुन्छ ।  ‘एउटा फोटो हजार शब्दभन्दा शक्तिशाली हुन्छ’ भन्ने विश्वव्यापी भनाइ यो पटक केही हदसम्म सही हो कि, लाग्यो । 

बाँकी संस्मरणहरू म क्रमशः लेख्दै जाने छु । यस पटक राहुल मजुमदार दाइले खिच्नु भएको छत्तीस वर्ष अघिको केही तस्वीर र हाम्रो ताजा केही तस्वीर राखेर यो गन्थनबाट आफ्नो जिन्दगीमा फर्कन चाहन्छु । पक्कै पनि एउटा यात्रीको, फोटोग्राफरको यो लगावले तपाईंलाई केही ऊर्जा प्राप्त हुनेछ । केही आनन्द, केही जिज्ञासा तपाईंमा सल्बलाउने छ ।

३६ वर्ष अघिका केही तस्वीरहरूः 








ग्लेसियर, जहाँ राहुल दा सँग भेट भएकाे हाे । ३६ वर्ष अघिकाे तस्वीर र अहिलेकाे तस्वीर । क्रमशः 





राहुल दा


ए, साँच्ची । यो यात्रा दुई वर्ष अघि सम्पन्न भएको हो । 
 

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

प्रकाश आङदेम्बे

लेखकबाट थप...