दागाना, भूटानमा जन्मेर हाल अल्बेरी, अष्ट्रेलियामा रहेका दुर्गाप्रसाद रिमाल अस्ट्रेलियान रेडक्रसमा कार्यरत छन् ।साहित्यको विभिन्न विधाहरू रूबाई, गजल, कविता, आख्यानमा सक्रिय उनले कंगारूको देशबाट (संयुक्त गजल संग्रह- अष्ट्रेलिया- विसं २०७३), अमर स्पन्दन (स्मारिका- धादिगं नेपाल- विसं २०६५) तथा खैयामलाई प्रश्नकाे सम्पादन गरेका छन् ।

रिमालका भूगोलको नासो (गजल संग्रह- विसं २०७१), समयको आयु (रूबाई संग्रह- विसं २०७५), एल्बम कनेक्शन (संयुक्त- विसं २०७६), समकालीन भूटानी- नेपाली कथा संग्रह (संयुक्त- विसं २०७५) लगायत कृति प्रकाशित छन् । त्यस्तै, उनका दर्जनमाथि गीत/गजल रेकर्डेट छन् ।

लामाे समय शरणार्थी शिविरमा बिताएका रिमालसँग द मार्जिनकाे स्तम्भ मनकाे देशका लागि गरिएकाे संवादः

–जब आफूलाई शरणार्थी शिविरमा छु, शरणार्थी हुँ भन्ने अवस्थामा पाउँदा कस्तो अनुभव भयो ?

शुरु शुरुमा त खासै, कुनै अनुभूति नै भएन । म साढे चार वर्षको बालक थिए देश निकाला हुँदा । पछि बिस्तारै मध्यराती निन्द्रामा झरिले रूझाउँदा, गर्मीमा घामले सुकाउँदा, खानेबेला खाना नपाउँदा र लगाउँने बेला लुगा नहुँदा पो बल्ला थहा भयो कि म मान्छेहरूको नजरमा भुइँमान्छे रहेछु, हेला र घृणाको पात्र रहेछु भनेर । यस्तै दुःख र दर्दमा पर्दा पनि हेला सहनुपर्ने मान्छेलाई चाहिँ शरणार्थी भन्दो रहेछन् भन्ने कुरा पछि स्कुल पढ्दै जाँदा थाहा भयो ।

–भूटानका केही सम्झनाहरू छन्  ? कत्रो हुँदा नेपाल आउनु भो ?

धेरै त हैन, केही सम्झनाहरू छन् । हाम्रो घर जंगलको छेउमा थियो । बाघ, भालु घरकै आगनसम्म आउँथे । जुकाहरू अत्यधिक लाग्थे । बुबा अरूको घर बनाउने मिस्त्री काम गर्नुहुन्थ्यो । एक पटक जंगलभित्र रहेको हाम्रो गोठमा गएको र सरिरभरि जुकाले टोकेको सम्झना ताजे छ मानसपटलमा । 

म चार वर्षको थिए । मेरो ठूलदिदी आठ वर्षजतिको हुनुहुन्थ्यो क्यार । दिदीले मलाई हेर्दै गाइवस्तु चराउन जंगल लगेको याद पनि अझै ताजै छ । 

म लगभग साढे चार वर्षको थिए नेपाल आउँदा । करिब तीन दिनजति जंगलको बाटो बाबा-आमाकोसाथ खाली खुट्टा हिँडेर भूटान-भारतको सिमासम्म आएर एउटा ट्रकमा आमा-बाले बोकेको बाकस, केही समानहरू र हामी करिब दस-बाह्र परिवार नेपालतिर आएको धुमिल सम्झना छ मसँग ।

–बाबाआमाको भूटान प्रतिको सम्झनाहरू कस्तो रहेका छन् ?

कति छन् कति । कुरा नगरौँ, मन भकानिएर आउँछ । यो प्रश्न मैले बुबा-आमालाई सुनाउनसाथ उहाँहरूको हसिलो मुहार छिनभरमै भावुक बन्यो । बाबाको त स्वार नै रून्चे बन्यो । 

बाबाले भन्नु भयो, “हाम्रो घरखेत थियो, अलैची बारी र स्याऊ बारी थियो । सबैभन्दा ठूलो कुरा त आफ्नो देश थियो, माटो थियो । सरकारको आव्हानमा हरेक वर्ष बिना पैसा  ‘स्यक्टोलेमी’ गर्नु पर्थ्यो । स्यक्टोलेमी भनेको गाउँँभरि सित्तैमा काम गर्नु पर्थ्यो । तीन-चार दिन लगाएर निरन्तर झाड-जंगल फाड्नु पर्थ्यो, सरसफाइ गर्नु पर्थ्यो, बाटो खन्नु पर्थ्यो आदि इत्यदी । त्यस्तै वर्षमा कम्तिमा पनि एक महिना (३० दिन) झारलागीं गर्नु पर्थ्यो । हुन त सरकारले दिनको ७ रुपैयाँ (सात रूपय) दिन्थ्यो तर भिर खन्नेदेखि लगेर पाखा र पखेरा सबैतिर खन्नु पर्थ्याे बाटो बनाउनको लागि । एकपटक चिरागं जिल्लाबाट दागापेलासम्मको भिरको बाटो खन्ने क्रममा ब्लास्टिगं गर्दा एकैपटक तीन जना राइ साथीहरू मरेको सम्झना छ । अहिले चिरागंदेखि दागापेलासम्म गाडी गुड्छ रे । त्यो बाटो बनाउनेमध्य एक म पनि हुँ । बहुत कठिनकासाथ त्यो देशको विकासकानिम्ति रगत बगाएको छौ । सम्झदामात्र मन भक्कानिन्छ ।’ बाबाले फेरि थप्नु भयो ।

“पछि सन् १९९२ नबेम्भर महिनामा हाम्रो गाउँँको मण्डल भागेपछि अर्को मण्डल छान्नु पर्ने भयो । हामीले गाउँबाट मण्डलको उमेद्वार लिएर जोंदाकोमा गयौ । शुरुमा हाम्रो उमेद्वारलाई पत्याएन । पछि चारै गाउँका गाउँलेहरूले उसको नाम दिएपछि उसैलाई मण्डल घोषित गरिदियो जोंदाले । त्यसपछि हाम्रो देउराली गाउँको सबै गाउँलेलाई एक ठाउँ लामबद्ध राख्यो र अरू गाउँका गाउँलेलाई घर पठायो । त्यो बेलुका हामीलाई अपशब्द प्रयोग गरेर नानाथरी गाली गर्यो । तिमीहरू सबै सेता मान्छे (उसको भाषामा आन्दोलनकारीलाई चन्दा दिने) हो भन्दै केही दिनमा सुन्कोस नदीको माछाको चारो बनाउने धम्की दियो । साथै हरेक रात दुई गाउँले ठिटी उसकोसामु पुर्याउने बाचा गराउँदै मध्य रातमा हामीलाई छाड्यो । त्यसको हप्तादिन नबित्दै हामीले गाउँ-घर छोड्यौ”- बाबाले मन दर्हो पार्दै भन्नु भयो । 

आमाले बाबाको कुरामा सहमत जनाउँदै उहाँका केही गाउँले साथीहरू र अन्य चेलीहरूको नाम लिँदै उहाँहरू बलात्कारको सिकार भएको कुरा सुनाउनु भयो । म आमाले नाम लिएका मानिसहरूको नाम यहाँँ लिन चाहन्न उहाँहरूको मान मर्यदा र सम्मानको लागि ।

शिविरमा रहँदै, नेपालका विभिन्न स्थानमा शिक्षक भएर पढाउन पनि जानु भयो । कुनै सम्झने पर्ने घटना छन् ।
अष्ट्रेलिया पुर्नबास हुनुभन्दा केही वर्ष अगाडि मैले नेपालको धादिङ जिल्लाको सलाग गाविसमा अवस्थित श्री अमर आदर्श माध्यमिक विद्यालयमा अंग्रेजी शिक्षकको रूपमा केही वर्ष बिताए । त्यहाँँ रहँदा पढाउनुको अलवा विद्यार्थीहरूलाई साहित्य लेखनको तालिम दिनुका साथै मेरो पलमा मासिक भित्तेपत्रिका प्रकाशनमा ल्याएको थिए । रचना प्रकाशन गर्ने बोड आफैँले बनाइदिएको थिए । मेरो आफ्नै सम्पादनमा विद्यालयको पच्चिसाैँ वार्षिक उत्सवमा ‘अमर स्पन्दन स्मारिका’ प्रकाशन गर्नको साथै त्यसै विद्यालयका प्रधानाध्यापक श्री हुम नारायण श्रेष्ठको मार्गदर्शनमा विद्यालयको इतिहास लेखेको थिए जो आज पनि अमर स्पन्दन स्मारिका समावेश छ । यस्तै विद्यार्थीले बिहानी स्तुतिको रूपमा गाउँने सरस्वती बन्धना पनि मैले नै लेखेको थिए ।

सायद, आजसम्म पनि विद्यार्थीहरूले सोही बन्दना गाउँदै होलान् । यही स्कुल पढाउने क्रममा एक दिन हेड सर हुमनारायण श्रेष्ठले गाउँसम्म गाडी ल्याउने रोड आउने कुरा बताउनु भयो । केही दिनपछि गाउँलेहरूसाथ सँगै गएर ढुंगा बोक्नेदेखि लगेर बाटो खन्ने कामसम्म गरेको थिए । आज पनि सम्झदा आनन्द आउँछ । हाम्रा बा-आमाले भूटानमा यस्तै पसिना बगाउनु भएको थियो । मैले नेपाली माटोको सुगन्ध महसुस गर्न यही ठाउँमा पाएको थिए । 

मैले यो ठाउँबाट पाएको दुईटा महत्वपूर्ण शिक्षा के हो भने नेपाली समाजमा गाउँले मानिसहरू यतिसम्मको इमान्दार हुँदा रहेछन् । उनीहरूले पाहुनालाई भगवानको दर्जामा अझ पनि राख्नु हुन्छ । मैले प्रत्यक्ष यो अनुभूति महसुस गर्न पाएको छु । सायद हाम्रा पुर्खाहरू पनि भूटानमा त्यतिकै इमान्दारी थिए तर भूटान सरकारले उहाँहरूको इमान्दारी बुझ्न सकेन । दोस्रो कुरा, एउटा मानिसले चायो भने पूरै गाउँ बदल्ने रहेछ । यस विद्यालयको तत्कालीन प्रधानाध्यापक श्री हुमनारायण सरले आफ्नो पल र निजी जग्गामा प्राविलाई माविसम्म पुर्याउनु भएको रहेछ । मलाई उहाँ सिंगो गाउँको जीवित भगवान जस्तो लाग्थ्यो । म अष्ट्रेलिया पुर्नवास भएको करिब छ-सात वर्षपछि थाहा भयो कि अरूले लापरवाही चलाएको सवारीका कारण दुर्घटनामा परि उहाँको निधन भएछ । त्यो घटना सुन्दा म धेरै रोए । हेड सरको आत्माको कामना गर्दछु ।

–साहित्यमा के सम्झेर लागियो ?

खास, के सम्झेर या बुझेर साहित्यमा  लाग्नुपर्छ भन्ने पनि थाहा नै नपाइ लागियो । यद्यपि, एउटा बालापनको घटनाले सधै घचघच्याउने गर्छ । भूटान-भारतको सिमानाबाट नेपाल खेदिने क्रममा अहिले बुझ्दा भारतको कुनै जग्गामा ट्रक रोकियो सायद डाइभरले खाना खान हुनुपर्छ । त्यस बेला मानिसहरूले मैले नबुझ्ने भाषा बोल्दा अचम्म लागेथ्यो । यस घटनाले आफ्नो भाषा र संस्कार भन्दा माथि केही हुन्न भन्ने कुराको संकेत दिएको हुनिपर्छ । यसकारण पनि साहित्यप्रति लगाव बढेकाे हुनुपर्छ ।

साहित्यको कुन कुन विधाले बढी रुचि जगाउँँछ ?

मलाई रूबाई विधा असाध्यै प्रिय लाग्छ । यस अलवा गजल, कविता र गीत लेखनमा मेरो बढी रुचि छ । हुन त मैले कथाहरू पनि लेखेको र केही पुस्तकहरूमा पनि प्रकाशन छन् । सकेछु भने भविष्यमा एउटा सत्य घटनामा आधारित उपन्यास लेख्ने र प्रकाशन गर्ने ठूलो रहर छ ।

–प्रायःले तेस्रो देशको विकल्पमा अमेरिका रोजे तपाईंंले किन अष्ट्रलिया रोज्नु भयो । अष्ट्रलिया पुनर्वास हुनुअघि मनमा कस्तो भावना उत्पन्न भएको थियो ?

पहिलो कुरा त मैले अष्ट्रेलियाको इतिहास पढेको थिए र पछि मेरो शिक्षण यात्रामा विद्यार्थीहरूलाई अष्ट्रेलियाबाट पढाएको थिए । त्यही बेलादेखि नै अष्ट्रेलिया देश र विशेष यहाँका आधिबासीप्रति उच्च सम्मान थियो, त्यसैले प्रेरित गर्यो । दोस्रो कुरा, मेरी आमाको सम्पूर्ण माइतीहरू अमेरीका पुनर्वास भइसक्नु भएको थियो । बाबाको सम्पूर्ण परिवार पनि उत्तै जाने पक्कापक्की भइसकेको थियो । तैपनि के बुझेर हो, बाबा-आमाले अष्ट्रेलिया नै जाने कुरा गर्नु भयो । बाबा-आमाले केही पक्कै बुझ्नु भएको हुनुपर्छ भन्ने विश्वासकासाथ अष्ट्रेलिया पुनर्वास गरियो ।

–अष्ट्रलिया पुगेपछि शुरुमा मनमा कस्तो कुरा खेल्यो । कति सहज भयो ? कति असहज भयो ?

शुरुशुरुमा त अर्कै ग्रहमा आइयो कि के हो भनेजस्तो जस्तो लाग्थ्यो । मान्छे नैला थिए, उनीहरूको रहनसहन नौलो थियो । बोल्ने भाषा, मान्ने धर्म र संस्कृति फरक थियो । वातावरण फरक थियो । घरको बनावटदेखि लगेर बाल्ने चुलोसम्म फरक थियो । श्रीमती गर्भवती थिन्, साथमा आमा-बा हुनुहुन थियो, साथी भाइ र आफन्त थिएनन् । निक्कै कठिन भयो तर हिम्मत हारिन ।

बिस्तारै यताको वातवरणमा घुलमिल हुँदै गए । अवसरहरू खोज्दै गए । चुनौतीहरूसँग निरन्तर लड्दै गए तर हिम्मत कहिल्यै हारिन । बिस्तारै सामाजिक, आर्थिक, शैक्षिक र रोजगार क्षेत्रमा सफलता मिल्दै गयो अनि जीवन सहज बन्दै गयो । र, अहिले भौतिकरूपमा जीवन सहज बन्दै गएको छ तर संघर्ष भने जारी छ । साच्चै भन्नु पर्दा जीवन भोगाइबाट नै सहज बन्ने रहेछ ।

–तेस्रो देश पुनर्वाससँगै, सँगैका साथीहरू, आफन्तहरू छुट्दा मनमा के कुरा खेल्यो । अहिले सम्झदा कस्तो लाग्छ ?

शुरुशुरुमा त केही सोच्नै सकिन । श्रीमती गर्भवती थिन । उनलाई साथ दिनु नै मेरो पहिलो पाथमिकता थियो । २ महिना पछि छोरीको आगमन भयो । संसारकै सबैभन्दा ठूलो खुसी मिल्यो । छोरीसँग रमाउँदै आफ्नो जीवन र परिवार व्यवस्थित बनाउनमै व्यस्त भए । साथ-साथै म प्रति यहाँ रहेको भूटानी समाजको छुट्टै अपेक्षा थियो । परिवारिक र सामाजिक कार्यमा यति व्यस्त भएछु कि आफ्ना लागि सोच्ने फुर्सदै भएन । चाडपर्व आउँदा चाहिँ साथी-भाइ र आफन्तको धेरै याद आउथ्यो र आइरहन्छ अझ पनि । यद्यपि, सामाजिक सञ्जालले सबैसँग जोडिदिएको छ । यो सुखद पक्ष हो । 

अहिले सम्झदा, आफ्ना लागि पनि अलि समय छुटाएको भए हुन्थ्यो झै लाग्छ तर पश्चताप छैन । हिजोको व्यस्तताले आजको खुसी मिलेको हो र आजको लगानीले भोलि अझ खुसी मिल्नेमा पिर्ण बिस्वास छ । समग्रमा, अष्ट्रेलिया पुनर्वासको यो १० वर्षलाई फर्केर हेर्दा हरेक क्षेत्रमा सन्तुष्ट छु ।

–शरणार्थी शिविरको त्यो भौतिक अवस्था र अहिलेको अष्ट्रेलियाको अवस्थामा निक्कै फरक छ । कस्तो महसुस हुन्छ ?

भौतिकरूपमा अष्ट्रेलियामा सबैथोक छ । जीवन सम्पन्न छ । घर छ, गाडी छ, सोचेजस्तै जागिर छ तर कता कता मनमा बेचैन भइरहन्छ, आत्मसन्तुष्टि मिल्दैन जो शरणार्थी शिविरमा मिल्थ्यो । सधैँ मनमा केही न केही तनाम बोकेर हिँड्नु पर्छ, केही नपुगे जस्तो, केही नभए जस्तो लाग्छ । खुसी मिल्छ तर खुसी साट्ने साथीभाइ मिल्दैन, सफलता मिल्छ तर सफलतामा खुसी साट्ने आफन्त मिल्दैन, मनभरि भावना प्रकट हुन्छ तर भावना सुनाउने भाषा मिल्दैन, चाड पर्व आउँछ तर मनाउने उत्साह र उमंग मिल्दैन, आफ्नो संस्कृति मनाउन सरकारको अनुदान मिल्छ तर संस्कृति मनाउने भनेजस्तो जमात मिल्दैन । अवसर मिल्छ तर समय मिल्दैन । समग्रमा, घडीको सुइरोसँगै जीवन चलाउन सकिएन भने सबै डामाडोल हुन्छ ।

–अष्ट्रेलियमा नेपालीभाषा, साहित्य, संस्कृतिको अवस्था अहिले कस्तो छ ?

आश लाग्यो छ । हामी साहित्य कर्ममा लागेका सम्पूर्ण श्रष्ठाहरूले आ-आफ्नो ठाउँबाट केही न केही गरिरहेका छौँ  । व्यक्तिगत कृति, एल्बम आदि प्रकाशनमा ल्याइरहेका छौँ  । सामूहिक कार्यहरू पनि उतिकै गकिरहेका छौ जस्तो उदाहरण बेला-बेलामा हामीले आयोजना गर्ने कार्यक्रमहरू साथै प्रकाशन गरेको कृतिहरूलाई लिन सकिन्छ ।

यस्तै समग्र अष्ट्रेलियाभरि हेर्ने हो भने वर्षमा कम्तीमा पनि १०-१५ बाट सामूहिक संस्कृतिक कार्यक्रमहरू आयोजना हुने गर्छन् । हरेक चाडपर्व, रितिथीति घर घरमा मनाउने कार्य बढ्दाे छ । त्यस्तै, नेपाली रेडियो कार्यक्रम पनि सञ्चालनमा छन् । 

सबैभन्दा उपलब्धिमुलक कार्य त के छ भने हामी भूटानी समुदायको पहलमा साउथ अष्ट्रेलिया प्रान्तले राष्ट्रिय स्तरमा नेपाली भाषालाई वैकल्पिक भाषाकोरूपमा पाठ्यक्रममा समावेश गरेको छ । एडिलेट लगायत अन्य सहरहरूमा नेपाली भाषाका कक्षाहरू सञ्चालनमा छन् । 

–क्रिएटिभ सर्कल अष्ट्रेलिया, साझा आवाज स्थापना गरेर लागिरहनु भएको छ यिनीहरूको बारेमा केही बताइदिनुस् न ।

सन् २०१४ तिर नेपाली साहित्यको अभाव अत्यधिक खड्कियो । त्यसपछि उपायहरू खोज्दै गए । अष्ट्रेलियामा साहित्यको माहोल खासै थिएन । निराश भए । त्यसै सन्दर्भमा केही नयाँ काम गरौ झै लाग्यो । त्यो बेलासम्म अष्ट्रेलियाको नेपालीभाषी भूटानी समाजमाझ साहित्यको पुस्तक प्रकाशन भएको थिएन । त्यसकारण पनि अभियानको शुरुवात गर्न गजलको पुस्तक प्रकाशन गक्ने सोच आयो । श्रीमतीलाई सुनाए । उनले सबै प्रकाशन खर्च बेहोर्ने कुरा बताउँदै हौसला दिइन्  । सन् २०१५ को शुरुवाततिर ‘भूगोलको नासो’ले जन्म लियो । एक भव्य कार्यक्रममा यसको विमोचन भयो । त्यसपछि अष्ट्रेलियामा साहित्यको माहोल जुरमुरायो । हुन त यसअघि पनि अन्य प्रान्तमा साहित्यिक कार्यक्रमहरू फाट्टफुट्ट भइरहेको खबर सुनेको थिए तर आफैँचाहिँ सामेल भएको थिइन ।

पुस्तक प्रकाशन त भयो तर प्रचारप्रसार गर्ने माध्ययम भएन । यो क्षेत्रमा पनि केही गर्नु पर्छ भन्ने सोच आयो । भिडियोमार्फत केही डकोमेन्ट गर्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । एक बिहान अचानक मेरो प्रिय भाइ शिव आचार्यको सम्झना आयो । उनले शिविरमा रहँदा पत्रकारितामा गरेको संघर्ष प्रतक्ष अनुभूति गर्ने मौका पाएको थिए । समचार संकलनको कर्ममा मेरै आंखा अगाडि उनको क्यमेरा फुटाएको दृष्या झलझली आयो । यो संघर्ष उनले नजिकबाट बुझेको हुनले पनि उनीसँग सल्लाह गर्ने सोच आयो र कल लगाए । शिवले पनि यस्तै प्लेटफम खोजिरहेको बताए । त्यसपछि दाई रिमेन आलोक, शिव र म बिच सरसल्लाह भयो र कार्यक्रम ‘साझा आवाज’ को शुरुवात गरियो । कार्यक्रम ‘साझा आवाज’ले भिडियो, त्यसपछि अडियो हुँदै सन् २०१६ बाट हालसम्म अष्ट्रेलियाको स्थानिया रेडियो स्टेसनबाट लगातार नेपाली कार्यक्रमहरू हरेक हप्ता प्रसारण गरिरहेको छ । 

यसरी कार्यक्रमको शुरुवात गर्ने सोचसगैं कार्यक्रमलाई बेवस्थित बनाउने, पुस्तक प्रकाशन गर्ने र संस्कृतिक साथै साहित्यक कार्यक्रम आयोजन गर्ने सल्लाह अनुसार हाम्रो सहकार्यमा सन् २०१५को मे महिनाबाट ‘क्रिएटिभ सर्कल अष्ट्रेलिया’को स्थापना गरियो । यस संस्था/समुहबाट हालसम्म पुस्तक प्रकाशन हुनका साथै अनगिन्ती कार्यक्रमहरू आयोजना भएका छन् । यस वर्षको शुरुवातमा नेपाली इतिहासकै पहिलो रूबाई कृति ‘खैयामलाई प्रश्न’ को प्रकाशन गरेको यस संस्थाले चाँडै नै गजलकारद्वय रिमेन आलोक र धना रिमाल ‘ज्योति’को युगल गजलकृति ‘रदिफ-काफिया’ प्रकाशनमा ल्याउँदैछ । यसरी विभिन्न फरक-फरक दृष्टिकोणमा हामी निरन्तर नेपाली साहित्य र संस्कृतिको संरक्षणमा समर्पित छौँ  ।

–आफ्ना सृजनशील गतिविधिका बारेमा, कृतिहरूका बारेमा (कृति गीत, गजल, रूबाई आदिका बारेमा) केही उल्लेख गरिदिनुस् न ।

मैले मेरो लेखन कार्यलाई लेखनमा मात्र सीमित नराखेर एउटा साहित्यिक-सामाजिक अभियानको रूपमा लिने गरेको छु । हाम्रो लेखनले समाज परिवर्तनमा अहम भूमिका खेल्नु पर्छ भन्ने मान्यता पनि राख्दछु । साथै, अबको हाम्रो साहित्य लेखन विश्वबजारसम्म पुर्याउन सकियो भने हाम्रा (विशेष गरि विदेशमा जन्मिएका) नानीहरूको पनि साहित्यमा आकर्षण बढ्ने थियो भन्ने लाग्छ र यो क्षेत्रमा केही गरौँ भन्ने विचार पनि छ । हालसम्म गजल र रूबाई विधामा गरेर दुई कृति प्रकाशित छन् । आधा दर्जन जति संयुक्तरूपमा कृति र दर्जनमाथि गीत/गजल रेकड भएका छन् । दुई कृतिहरू ‘अमर स्पन्दन स्मारिका’ र ‘कंगारूको देशबाट’को सम्पादन गरेको छु । यसैगरि नेपाली रूबाई इतिहासको पहिलो कृति ‘खैयामलाई प्रश्न’को संयोजन गरेको छु । अन्य केही कृतिहरू तयारीमा छन् ।  

–निश्चय पनि प्रतिकुल समाज, व्यस्त समय, कामको चटारोकाबीच पनि निरन्तर साहित्य गर्नु, गतिविधि गर्नुको पछाडि कुन उर्जा, साथहरूले सहयोग गरिरहेका छन् तपाईंंलाई ?

मेरो पहिलो उर्जा त मभित्रको इच्छाशक्ति नै हो । त्यसपछि मेरो परिवार हो- आमा, बाबा र श्रीमती हुन् । विशेष गरी साहित्यिक गतिविधिको सन्दर्भमा हामी अष्ट्रेलियामा एकीकृत भएर लागिरहेका छौँ  । सधैँ, सबैको विचार र भावना मिल्छ भन्ने छैन र त्यस्तो अपेक्षा राख्नु पनि हुन्न तर मुलभूतरूपमा हामी साहित्यिक/सामाजिक अभियन्ताहरू एक ठाउँमा छौँ  । 

–भावी योजनाहरू कस्ता कस्ता छन् ?

म योजना अनुसार अघि बढ्ने व्यक्तिमा पर्दिन । जे गर्छु मनबाट डटेर गर्छु । अरूको कुभलो कदापी सोच्दिन र अरूले मलाई आक्रमण गरेको पनि सहन्न । मलाई आफ्नो कर्म र समयप्रति बढो विश्वास लाग्छ । यद्यपि, साहित्यिक, संस्कृतिक तथा सामाजिक उत्थान र प्रबर्द्धनका कार्यहरूमा निरन्तर सक्रिय भइरहनेछु । सकेसम्म र समय मिलेसम्म लेखन कर्ममा लागिरहनुका साथै सकेसम्म जीवनको कुनै मोडमा एउटा यथार्थपरक उपन्यास लेख्ने र प्रकाशन गर्ने लक्ष्य छ । साथै अंग्रेजी अनुबाद सहित हाम्रा कृतिहरूलाई विश्व बजारमा पुर्याउने ठूलो लक्ष्य छ । 

–नागरिकताको हिसाबले तपाईंंहरूलाई नेपाली भन्दैनन् तर कला साहित्य, संस्कृति पहिचानका लागि तपाईंंहरू भन्दा अग्लो नेपाली कोही छन् जस्तो लाग्दैन । यसबारे मनमा लागेका कुरा बताइदिनुस् न ।

यस विषयमा मैले मेरा सृर्जनामार्फत बारम्बार बोलिरहेको छु । यहाँहरूले मेरो ‘छैन देश के भयो र’, ‘जहाँ टेक्यो त्यही पाइला’, ‘तिम्रो त सबथोक छ’ आदि गजल सुन्न/पढ्न सक्नु हुनेछ । मेरो बुझाइमा आफ्नो पहिचान निर्धारण आफ्नो भाषा, संस्कृति र जातीले गर्छ । यसकारण पनि नेपाल र नेपालीहरूबाट म अलग रहन सक्दिन । अर्को कुरा, हाम्रो नेपालीजातीलाई सिमानाले छुट्याउनु हुँदैन जस्तो लाग्छ तर बिडम्बना एउटा देशले आफ्नो पूर्णरूप पाउन सिमानाको उतिकै आवश्यक पनि छ । तपाईंहरू जस्तो नेपाली नागरिक बोक्नेहरूले छाती फराकिलो पारिदिनु भएको छ र भाषा, साहित्य, संस्कृति र कलाकोमार्फत नेपालसँग जोड्ने काम गरिरहनु भएको छ । 

म राष्ट्रप्रति गद्दार गर्न सक्दिन त्यसकारण पनि आफूलाई नेपाली भन्दा पनि नेपालीजाती भन्न रुचाउँछु । यद्यपि, जहाँ रहे पनि, जस्तो अवस्थामा रहे पनि इमान्दारपुर्वक छातीमा नेपाली पहिचान बोकेर बाँच्नेछु, पुगेजति ठाउँमा र भेटेजति मानिसलाई नेपाली भाषा र संस्कृतिको महत्व बुझाउने प्रयास गर्नेछु र मर्दा पनि नेपालीजाती भएरै मर्नेछु । मेरो सम्मान सधै नेपाल र नेपाली माटोलाई रहनेछ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।

द मार्जिन

लेखकबाट थप...