केदार सिटाैला

लेनिनको मृत्यु भएको ९७ वर्ष पुगिसकेको छ । तर उनको शव अहिले पनि रुसको राजधानी मस्कोको रेड स्क्वायरमा सुरक्षित रहेको छ । अझै पनि लेनिनप्रति श्रद्धा व्यक्त गर्न चाहने मान्छेहरु लाइन लागेर उनको शवको दर्शन गर्छन् र श्रद्धान्जली व्यक्त गर्छन् । कोरोना महामारीको बेला ६ महिनासम्म लेनिनको समाधि बन्द गरिए पनि अहिले फेरी खोलिएको छ ।

लेनिनको मृत्यु जनवरी २१, १९२४ मा भयो । रुसी लेखक एलेकस युरचाकका अनुसार लेनिनको मृत्यु पछि उनको मृत्युको कारण पत्ता लगाउन पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम क्रममा लेनिनको शरीरका धमनी र नसाहरु काटिए । जबकि शवलाई संरक्षण गर्ने हो भने धमनी र नसाबाट शवलाई संलेपन गर्ने रसायनहरु शरीरभरि पठाउन सजिलो हुन्थियो । सायद लेनिनको मृत्युको लगत्तै पछि पनि उनको शरीरलाई संरक्षण गर्ने योजना बनिसकेको थिएन । पोस्टमोर्टमपछि चिकित्सकहरुले अन्त्येष्टिसम्मको अल्पवधीका लागि लेनिनको शरीरलाई संलेपन गरे । मृत्युको ६ दिनसम्म उनको शरीरलाई जनताले श्रद्धान्जली अर्पणको लागि ट्रेड युनियनको भवनमा राखियो । देश भित्रबाट ठुलो संख्यामा मानिसहरु लेनिनलाई अन्तिम बिदाई गर्न आउन थाले । मस्कोको जाडोमा घन्टौ लाम लागेर मानिसहरुले श्रद्धान्जली अर्पित गरे । जनवरी २७ मा भव्य समारोह पछि लेनिनलाई समाधिस्त गरियो । समाधिस्त गर्नुको मतलब ट्रेड युनियन भवनबाट रेड स्क्वैयरमा बनाइएको काठको अस्थायी समाधिमा राखियो । मस्कोको चिसो मौसममा मार्च महिनासम्म लेनिनको शव सुरक्षित नै रह्यो । तर मार्चको अन्त्य तिर जब गर्मि सुरु भयो, शव बिग्रिन थाल्यो ।


Monument for the Russian Soul — RethinkTANK


यी दुई महिना बीचमा लेनिनको शवलाई के गर्ने भनेर सोभियत नेताहरु बीच छलफल र बहस हुन थाल्यो । लेनिनको मृत्यु हुँदा यसरि उनको शवलाई सुरक्षित गरिने कुरा कसैले पनि सोचेका थिएनन् । लेनिन कि पत्नी नाजेदा क्रुप्स्कायका अनुसार लेनिन आफ्नो मृत्युपछि आफुलाई आफ्नी आमाको चिहान नजिक गाडियोस् भन्ने चाहन्थे । जुन सेन्ट पिटरसबर्गको भोल्कोभस्कोई समाधिस्थलमा रहेको छ । यो समाधिस्थल बुद्धिजीवी, साहित्यकार र प्राज्ञहरुको अन्तिम विश्रामस्थलको रुपमा प्रख्यात छ । त्यस्तै, ट्रोटसकी र बुखारिनले पनि लेनिनको शवलाई सुरक्षित गरिनु धर्मको अवशेष हो भन्दै यस्तो कुरा कम्युनिस्टहरुले सोच्ने नसक्ने कुरा भनेर विरोध गरे । अर्का सोभियत नेता भोरिसिलोवले यदि लेनिनको शव सुरिक्षत गरिन्छ भने हामी मार्क्सवादी लेनिनबादी नै रहदैनौ भनि विरोध गरे । त्यस्तै, अर्का नेता बोंच ब्रुयेभिचले लेनिनको शवलाई दफ्नाएर त्यसैलाई समाधि बनाउने प्रस्ताव गरे । जसलाई पोलिटब्युरोका बहुमतले समर्थन गरेका थिए । तर, स्टालिन र उनका समर्थकहरु भने लेनिनको शवलाई सुरक्षित राख्न चाहन्थे । त्यस बीचमा सोभियत नेताहरु बीच शव सुरक्षित गर्ने अनेक विधिका बारेमा चर्चा भए । कसैले शवलाई माथि सिसाको ढक्कन भएको धातुको बाकसमा संलेपन गर्ने रसायनमा डुबाएर राख्ने सुझाव दिए भने कसैले चिसोमा फ्रिज गर्ने र कसैले एउटा सिसाको पारदर्शी क्याप्सुलमा नाइट्रोजन ग्यास भरेर राख्ने सम्मका सुझाब दिए । अन्त्यमा, चिकित्साशास्त्रका प्राध्यापक ब्लादिमिर भोरोबियेव र बायोकेमिस्ट बोरिस जबारस्कीले संलेपनको विधि विकास गरे । यहि विधिलाई लेनिनको शव संरक्षण गर्न प्रयोग गरियो ।

लेनिन भन्दा अगाडी अनि थुप्रै मानिसको शव संरक्षण गरिएको थियो । ती मध्ये मिश्रका पिरामिडमा रहेका ममीहरु प्रख्यात छन् । त्यस यता पनि अनेकौ ठाउमा शव संरक्षण गर्ने काम गरिदै आएका थिए । तर, लेनिनको हकमा विकास गरिएको विधि पहिला शव सुरक्षित गर्न प्रयोग गरिएका विधि भन्दा फरक थियो । पहिला प्रयोग गरिएका विधिहरुमा सुरुमा एक चोटी संलेपन गरेपछि शव सधैको लागि सुरक्षित हुन्थियो । तर, यो विधिमा निरन्तर संलेपन कार्य गरिराख्नु पर्थ्‍यो । विगतमा शव संलेपन गरिँदा शरीरको वास्तविक पदार्थलाई सुरक्षित राख्ने तर त्यसको रुप र आकृतिमा ध्यान दिईदैन थियो । तर, लेनिनको शव संलेपन गर्दा भने शरीरको भौतिक रुप र आकृतिलाई बढी ध्यानमा राखिन्थियो न कि त्यसको जैविक पदार्थको सुरक्षामा । सोबियत संलेपन विधिमा शरीरको रुपरंग, आकृति, वजन, जोर्नीको लचकता कायम राख्नमा जोड दिइन्थियो । यसकारण यो संलेपन विधिलाई अर्धजैविक विधि पनि भनिन्छ ।

लेनिनको शव सम्रक्षनमा एउटा अनुसन्धान प्रतिष्ठान नै संलग्न छ । लेनिनको शवलाई हरेक डेढ वर्षमा एक पटक विभिन्न संलेपन रसायनमा केही हप्ताको लागि डुबाएर राखिन्छ । र, अरु बेला पनि सार्बजनिक प्रदर्शनको क्रममा लेनिनको कपडा मुनि रबरको दोहोरो पत्र भएको सुट लगाइएको हुन्छ । जसको माध्यमबाट संलेपन द्रव्यको पातलो तहले शरीरलाई ढाकेको हुन्छ । लेनिनको शव संरक्षणको क्रममा कहिलेकाही खराब भएका छालाको टुक्रा, मांसपेसीलाई प्लास्टिक वा त्यस्तै कृतिम पदार्थले प्रतिस्थापन गरिन्छ । सुरुवाती संरक्षणको क्रममा लेनिनको नाक अति चिसोको कारण खराब भएको थियो, त्यसलाई पुननिर्माण गरियो । त्यस्तै आँखी भौ नस्ट भएको थियो, जसको ठाउमा नक्कली आँखी भौ राखिएको छ । उनको खुट्टाको छाला खराब भएको थियो, त्यसलाई पनि कृतिम पदार्थले प्रतिस्थापन गरिएको छ ।

सोभियत संघ विघटन पछि रुसका नयाँ शासकले लेनिनको शवलाई गाड्न खोजे । तर, कम्युनिस्टहरुको विरोधको कारण सम्भव भएन । त्यसबेलाको रुस सरकारले लेनिनको शव संरक्षण कार्यमा लागेको ल्याबको बजेट पनि कटौती गर्‍यो । तर, जनताले स्वतस्फुर्त रुपमा संकलन गरेको चन्दाले यो कार्य जारि रह्यो । अहिले पुटिनले फेरी त्यसको बजेट सुचारु गरेका छन् । तर, अचेल रुसमा लेनिन त्यति लोकप्रिय छैनन् । उनी भन्दा बरु स्टालिन बढी लोकप्रिय छन् । लेनिनका बारेमा प्रतिक्रिया दिदै पुटिनले भनेका थिए - लेनिन क्रान्तिकारी नेता हुन् तर, उनले रुसको विभाजनको जग खडा गरेका थिए । लेनिनको शव कहिले सम्म संरक्षित हुन्छ भन्ने कुरा राजनीतिमा भर पर्ने कुरा हो । लेनिनको शव जति पुरानो भयो, त्यति नै सुन्दर हुँदै गइरहेको छ । लेनिनको शव संरक्षण विज्ञान र कलाको अद्भुत संयोजन हो । यसलाई अनन्त कालसम्म पनि संरक्षण गर्न सकिन्छ ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।