सुनिल उलक

फेशन मानविय जीवनको एक अभिन्न अंग भइसकेको छ । हामीले चाहेर वा नचाहेर यसलाई पछ्याइरहेका हुन्छौ । फेशनको दौडमा हामी बिस्तारै हिडेका हौला वा धेरै पछाडि हौला तर यात्रामा हामी पनि सामेल भएका नै हुन्छौ ।

फेशन भन्नाले चलिआएको पहिरन भन्दा केही भिन्न हुनु नै फेशन हो । नेपालमा फेशनको दौर कहिलेदेखि शुरु भयो होला भन्ने हामी मध्य धेरैले अनुमान गर्न सक्दैनौ । बाह्रे हाते घरबुना हाकुपटासी वा छिपापटासी लगाउने काठमाडौका महिलाहरुले बिस्तारै अरु कपडा पनि लगाउन थालेका थिए । पुटु लँ बिस्तारै ब्लाउज भयो । उहिले केटाकेटीहरुले लगाउने ह्वान्ताङ सुरुवा: अहिले फेरी फेशन भएको छ ।

आखिर आधुनिक पहिरनको शुरुवात कहिले र कसले गरेका थिए भन्ने विषयमा गहिरो खोज गर्दैछु । अहिलेसम्म भेटिएको प्रमाणका आधारमा भारतमा हातबाट ब्लक प्रिन्ट गरेर कपडा बनाउने कला सिकेर आएका डम्बरकुमारी नै नेपालमा पहिलो फेशन डिजाइनर भएको अनुमान गर्न सकिन्छ । जङ्गबहादुरकी छोरी विष्णु दिब्येश्वरी देवीको बिवाह बनारसका महाराजा प्रभुनारायण सिंहसँग भएको थियो । यिनै दिदीको घर बनारसमा डम्बरकुमारी बस्न गएकी थिइन् । विष्णु दिव्येश्वरी जङ्गकी प्यारी बडामहारानी हिरण्यगर्भकुमारी तर्फकी कान्छी तथा जङ्गकी पाँचौ छोरी थिइन भने डम्बरकुमारी मिना महारानीमा जन्मेकी जेठी तर जङ्गको बाह्रौ छोरी थिइन् । वनारस दरवारमा रहेकी डम्बरकुमारीले नयाँ काम सिकेकी थिइन् । काठको ब्लकबाट कपडामा बुट्टा बनाउने कला सिकेकी थिइन् ।

यिनले यो कला नेपालमा भित्राइन् । नेपाल फर्केपछि उनैले बाबु जङ्गबहादुरलाई पहिराइ दिएको टोपीको सुधारिएको रुप नै आजको प्रचलित ढाका टोपीको रुप हो । उनले ब्लक प्रिन्ट गरेको कपडामा नेपालको चिसो मौसमलाई सुहाउँदो गरि मलमलको खोल चढाइन, जसले गर्दा यहाँको जाडो थेग्न सक्ने पनि भयो ।

नेपाल आउनु अगाडि उनी बारेमा गलत अफवाह फैलाइएको थियो । जसले गर्दा जङ्गले वास्तविकता बुझ्न विशेष दुत नै बनारस पठाएका थिए । तर, सो अफवाह झुठो भएको प्रमाणित भयो । उनले ब्लक प्रिन्ट गरि बनाएको नयाँ खास्टोको नाम नै 'डम्बरकुमारी खास्टो' रह्यो । जुन अध्यावधि पाइन्छ र यहि नामले बिक्री हुने गर्दछ ।

डम्बरकुमारी खास्टोसंग अर्को रोचक प्रसंग पनि छ । शहिद दशरथचन्दको प्रेमकथामा डम्बरकुमारी खास्टो पनि गाँसिएको छ । शहिद दशरथ चन्दका हरेक तस्विरमा खास्टो ‌ओढेको देख्न सक्छौ । यो खास्टो डम्बरकुमारी खास्टो हो । शोभा भगवतीमा गोली हानिने बेलामा पनि यहि खास्टो ओढेका थिए । यो खास्टो उनको प्रेमिका जुलिया मैयाँ साहेवले प्रेमको उपहार स्वरुप दिएका थिए । तत्कालिन समयमा कमाण्डर इन चिफ रहेका रुद्रशम्शेर राणाको छोरी जुलिया मैया साहेवसँग पारिवारिक जुठो परेका कारण निर्धारित विवाहको मिति सरेको थियो । पछि रुद्रशम्शेर सर्वस्वहरण सहित पाल्पा निष्काशन भए पछि जुलिया पनि पाल्पा पुगे । उतै जुलियाको क्षयरोगका कारण निधन भयो । जुलियाको यादमा दशरथ चन्दले अर्को विवाह पनि गरेनन् र जुलिया मैयाले दिएको खास्टो पनि कहिल्यै छोडेनन् ।

राणाकालमा प्रचलित विभिन्न फेशनको गहिरो अध्ययन गर्दैछु । त्यो बेलाका २०० भन्दा बढि भिक्टोरियन फेशनका प्रभाव रहेका तस्विरहरु नियाली रहेको छु । १०० वर्ष अगाडि राणा तथा उच्च वर्गमा देखिने फेशन यूरोपका घरानियाहरु सरहका थिए । त्यस समय नेपालका फेशनको विषयमा कसैसँग केही विशेष जानकारी भएमा उपलब्ध गराउनु भएमा कृतज्ञ हुने थिए ।

यदि तपाईंसँग कुनै लेखरचना वा मूलधारका मिडियाबाट किनारीकृत मुद्दा तथा विषयहरू छन् भने हामीलाई [email protected] मा पठाउनुहोस् ।